दुलेगौँडा-हर्कपुर सडक स्तरोन्नति गरिँदै
तनहुँ | चैत १४, २०८१
तनहुँ: मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौँडा-हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ ।
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत तनहुँको दुलेगौँडा-हर्कपुर खण्डमा स्तरोन्नति थालिएको हो ।
लामो समयदेखि काम हुन नसकेको उक्त खण्डमा अहिले निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडाबाट म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार विसं २०५२ मा ट्रयाक खोलिएको दुलेगौँडा-हर्कपुर खण्डको १० दशमलव १८ किलोमिटर कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मङ्सिर २४ गते शिलान्यास गरिएको थियो ।
विसं २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडकमा पटकपटक म्याद थप गरिएको छ । यो सडकको म्याद आगामी असारसम्म रहेको छ । उक्त खण्ड कालोपत्रका लागि एमएस शङ्करमाली निर्माण सेवाले रु २५ करोड १० लाख ६० हजारमा ठेक्का पाएको थियो ।
शुक्लागण्डकी नगरपालिकाको पहलमा निर्माण कम्पनीका प्रतिनिधि श्याम लामासहितको टोली अहिले सडक स्तरोन्नतिका लागि कार्यक्षेत्रमा खटिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । तत्कालका लागि पाँच किमी कालोपत्र गर्न दबाब दिएपछि निर्माण कम्पनी अहिले कार्यक्षेत्रमा खटिएर काम अघि बढाएको उहाँले बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किमी सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरु हुँदा स्थानीयवासी खुसी भएकामा कामले गति नलिँदा निराश भएका छन् ।
दुलेगौँडा–हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रको पुरानो सडक समयमा सम्पन्न नहुँदा स्थानीय र यात्रुले सास्ती पाएका बताउनुभयो । उहाँले यथाशीघ्र सडक स्तरोन्नति गरी यात्रा सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
पोखरा: ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्...
काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...

